क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा तीनजना पक्राउ !

 कोरखबर   १ पौष, २०७७



पौष १,उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंघा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री छन् ।

सोमबार राति धाप्लाङटारस्थित क्रसर उद्योगमा सुतली र सकेट बमसहित दुई बम विस्फोट गराएको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमले बताए ।

सोमबार राति छ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ ।

बम विस्फोटबाट क्रसर उद्योगको जेसिभी, मोटरसहित पेट्रोलको ड्रममा क्षति हुँदा रु १० लाख बराबरको क्षति भएको उद्योगका सञ्चालक सुमन्त कोइरालाले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post