मंसिर ३०,काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको संसदीय दलका प्रमुख सचेतक देव गुरुङसँग राजीनामा मागेका छन् । पार्टीभित्रको विवादमा आफ्नो पक्षमा नलागेको भन्दै ओलीले गुरुङसँग बालुवाटार बोलाएर राजीनामा मागेका हुन् ।
सुरुमा ओलीले गुरुङलाई विभिन्न प्रलोभन देखाएर आफ्नो पक्षमा लाग्न उत्प्रेरित गरेको र नमानेपछि तत्काल राजीनामा दिन भनेको गुरुङले खुमलटार पुगेर रिपोर्टिङ गरेका छन् ।
गुरुङ यसअघि रामबहादुर थापा बादलको समूहमा खुलेका थिए । पछिल्लो समय गृहमन्त्री समेत रहेका बादल ओलीनिकट देखिए पछि गुरुङ प्रचण्ड समूहमा खुलेका छन् । बादल ओली समूहमा लागेपछि उनीसँग भएका नेताहरु छिन्नभिन्न हुन थालेको खुमलटारको बुझाई छ ।
ओलीले पार्टीको प्रमुख अध्यक्ष आफू रहेको र आफूले भनेको मान्नुपर्ने भन्दै तत्काल राजीनामा दिनुपर्ने बताएका थिए ।
तर, गुरुङले भने आफूलाई पार्टीले उक्त पदमा स्थापित गरेकोले यसबारे व्यक्तिले भन्दा पार्टी कमिटीले निर्णय गर्न सक्ने तर्क गरेका थिए । गुरुङले पार्टी विवादमा एउटा पक्ष लिए पनि प्रमुख सचेतकको रुपमा प्रचलित नियम कानूनअनुसार चलेको स्पष्टीकरण दिएका थिए ।