संवैधानिक परिषद् बैठक साँझ ५ बजेसम्म स्थगित !

 कोरखबर   ३० मंसिर, २०७७



मंसिर ३०,काठमाडौं । मंगलबार बिहानका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकमा कोरम नपुगेको हो ।

परिषद् अध्यक्ष प्रधानमन्त्री केपी ओलीले बैठकको एजेन्डाको विषयमा जानकारी नगराएको भन्दै सापकोटा बैठकमा उपस्थित नभएका हुन् ।

प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकमा उपस्थित भएका थिए ।

संवैधानिक परिषद् बैठक बस्नेका लागि पाँच सदस्यको अनिवार्य उपस्थित हुनुपर्छ । प्रतिनिधिसभाको उपसभामुख पद रिक्त भएकाले सभामुख सापकोटा अनुपस्थित हुँदा बैठकमा कोरम नपुगेको हो ।

प्रधानमन्त्री र परिषद्का अन्य सदस्यबीच छलफलपछि प्रधानमन्त्री ओलीले साँझ ५ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबारका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दलका नेता देउवा उपस्थित नभएपछि मंगलबारका लागि सरेको थियो ।

लामो समयदेखि परिषदको बैठक बस्न नसक्दा संवैधानिक निकायमा नियुक्ति हुन सकेको छैन । संवैधानिक नियुक्तिमा भागवण्डा नमिल्दा १३ महिनादेखि बैठक बस्न सकेको थिएन ।

बैठक बस्न नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानव अधिकार आयोगमा नियुक्ति हुन नसकेको हो । सभामुख सापकोटा बैठकमा उपस्थित नहुनुलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादको असरको रुपमा लिइएको छ। 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले सभामुख सापकोटालाई बैठकमा नजान भनेको र सोही अनुसार सभामुख सापकोटा बैठकमा उपस्थित नभएको आरोप बालुवाटार स्रोतले लगाएको छ ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post