मंसिर २९, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदबाट भागेर बालुवाटारमा लुकेको सरकारलाई ठेगान लगाउन आफूहरू सडक आन्दोलनमा आएको बताएका छन् ।
सरकारलाई ठेगान नलगाई आफूहरू घर नफर्किने थापाले बताए ।
सरकारविरुद्ध कांग्रेसले गरेको विरोध प्रदर्शनलाई कैलालीको धनगढीमा सोमवार सम्बोधन गर्दै नेता थापाले सरकार भ्रष्टाचारमा लिप्त भएकाले आफूहरू सडक आन्दोलनमा आउन बाध्य भएको बताए ।
‘कांग्रेसले यसअघि पनि चाहेको बेला सडक भर्न सक्थ्यो, तर हामीले गरेनौं । अहिले सरकार संसदबाट भाग्यो, बालुवाटारको दूलोभित्र लुकेको सरकारलाई ठेगानमा लगाउन कांग्रेस सडकमा आएको हो,’ थापाले भने ।
कोरोना महामारीको समयमा सरकारले भ्रष्टाचार गरेको भनेर आरोप स्वयं नेकपाकै नेताहरूले लगाएकाले आफूहरूले त्यसको हिसाब–किताब खोज्ने उनले बताए ।
‘नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेको कुराको हिसाब–किताब माग्छौं,’ थापाले भने, ‘कि प्रचण्ड माधव नेपालले खानपिन गरेको बेला बेसुर भएर लेखेका थियौं भन्नुपर्यो, नभए हामीले हिसाब–किताब खोज्छौं ।’