मंसिर २९,काठमाडौं । याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।
भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको उनका पति लक्षमण कृष्ण राजभण्डारीले जानकारी दिएका छन् ।
सुसन कर्माचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी हुन् । उनी हाल याम्बलिङ हाइड्रोपावरको अध्यक्षम पनि छिन् ।
कमानसिंह लामाको निधन भएपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए । साथै एकअर्कालाई मिलाउन भूमिका खेलेका नारायणकाजी श्रेष्ठलाई पनि यो विवादमा मुछिएको छ ।
यसै सन्दर्भमा कुरा गर्न कर्माचार्य आफ्नो श्रीमान र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार गएकी थिइन् । प्रधानमन्त्री ओलीसँग दिउँसो ३ बजेदेखि ३ः४५ बजेसम्म यस विषयमा कुराकानी गरेको कर्माचार्य परिवारले जनाएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले ‘गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडिग लाग्ने होइन, आनन्दले विना टेन्सन हिँडिरहनुपर्छ’ भनेर सम्झाएको सुसनका पति लक्ष्मणले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।
साथै मानसिंह लामाले यसबारे आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र नेकपाका अर्का अध्यक्ष प्रचण्डले केही सहयोग गर्न सक्ने भए त्यता कुरा गर्न सुझाव पनि दिएको लक्ष्मणले उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो । उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकोले मिलेर सल्टाउन र क।प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो,’ लक्षमणले फेसबुकमा लेखेका छन् ।