मंसिर २९, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशभरका ७७ वटै जिल्लामा एकसाथ प्रदर्शन गर्न लागेको छ ।
सभापति शेरबहादुर देउवाले आइतबार एक विज्ञप्ति जारी गर्दै ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण रहेको भन्दै सक्रिय सहभागीताका लागि अपिल समेत गरेका छन् ।
सभापति देउवाले हेटौँडामा विरोधसभाको नेतृत्व गर्दै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौँको विरोध प्रदर्शनलाई सम्बोधन गर्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यस्तै, उपसभापति विमलेन्द्र निधि भक्तपुरको विरोधसभामा सहभागी हुनेछन् भने महामन्त्री शशांक कोइरालाले विराटनगर तथा कोषाध्यक्ष सीतादेवी यादव ललितपुरमा हुने विरोध प्रदर्शनमा सहभागी हुने बताइएको छ।
यसैगरी सह(महामन्त्री प्रकाशशरण महत झापा र पूर्वउपसभापति तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ विरोध सभामा सहभागी हुन काभ्रे पुग्नेछन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा र पूर्वसह-महामन्त्री अर्जुननरसिंह केसीले पोखरा तथा पूर्वसह-महामन्त्री रामशरण महतले चितवनको विरोधसभाको नेतृत्व गर्ने भएका छन् ।
पूर्व कोषध्यक्ष चित्रलेखा यादवले सप्तरीको विरोध सभालाई नेतृत्व गर्नेछिन् भने केन्द्रीय सदस्य चन्द्रभण्डारी नुवाकोट, गगन थापा कैलाली, एनपी साउद अछाम र प्रदीप पौडेलले कञ्चनपुरको विरोध सभालाई सम्बोधन गर्ने काँग्रेसले जनाएको छ।
काँग्रेस केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय सदस्य शंकर भण्डारी सिराह, सुरेन्द्र पाण्डे रुपन्देही, विरबहादुर बलायर डोटी, कल्याण गुरुङ नवलपरासी, धनराज गुरुङले स्याङजाको विरोधसभालाई सम्बोधन गर्दै छन्। त्यसैगरी रामहरि खतिवाडा इलाम, नैनसिंह महरले दोलखाको विरोधसभाको नेतृत्व गर्दै छन् । कृष्णप्रसाद सिटौला कोरोना संक्रमणका कारण विरोध सभामा सहभागी नहुने बताइएको छ ।
काठमाडौंमा केन्द्रीय तथा जिल्ला तहका नेताले जुलुसको नेतृत्व गर्दै विभिन्न ५ रुटबाट र् र्याली निकालिने काठमाडौँ काँग्रेसले जनाएको छ। पाँच स्थानबाट सुरु भएको प्रदर्शन दिउँसो १ बजे रत्नपार्कमा पुगेपछि बागबजार– पुतलीसडक– कमलादी– त्रिचन्द्र क्याम्पस हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुनेछ ।