सिरहा, २९ मंसिर । प्रदेश नं.२ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश सरकार दुई रुपैयाँको सरकार मात्र रहेको बताउनुभयो । जिल्ला अस्पताल सिरहामा पीसियार प्रयोगशाला उद्घाटन गर्दै मन्त्री साहले त्यस्तो कुरा बताउनुभएको हो ।
संघीय सरकारले बजेटको भागबण्डामा विभेद गरेको भन्दै उहाँले भन्नुभयो ,‘कुल बजेटको ७० प्रतिशत केन्द्रमा राख्छै आएको भने १५/१५ प्रतिशत मात्र प्रदेश र स्थानीय सरकार दिने गरेका छन् ।’ ठुला–ठुला अस्पताल, शैक्षिक संस्थासँगै प्रदेश र स्थानीय सरकारले पाउनुपर्ने अधिकारमाथि केन्द्रले हस्तक्षेप गर्दै आएको उहाँको आरोप छ ।
‘प्रदेश र स्थानीयको जिम्मा भनिएको कर्मचारीको नियन्त्रण पनि केन्द्रले नै राखेका छन् । पठाएको तलब खुवाउने बाहेक केही गर्न नपाउने अवस्था छ,’उहाँले भन्नुभयो ।
संविधानमा व्यवस्था भए अनुसारको अधिकार पनि केन्द्रले प्रयोग गर्न दिइरहेको छैन् । आफ्नो अधिकार क्षेत्रमा केन्द्रले हस्तक्षेप गरेको भनी मुद्दा दिएको वन मन्त्रालयले जितेका छन् । अरु मुद्दा प्रक्रियामा रहेको छ ।’
कर्णाली, गण्डकी र प्रदेश नं.२ लाई एउटै दृष्टिले हेरेर बजेट विनियोजन गरिनु विभेद भएको भन्दै मन्त्री साहले ,‘भुगोल र जनसंख्याको आधारमा बजेट दिनुपर्ने हुन्छ । त्यो गरिएको छैन् । हामीले सोचेको र जनताले खोजेका अनुसार काम गर्न नसक्नुमा बजेटको कमीले हो ।’
संघर्षको भरमा आएको संघीयता अनुरुप बनेको प्रदेश सरकारलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाउनका लागि आन्दोलनको बिकल्प नभएको उहाँले बताउनुभयो ।
जनता समाजवादी पार्टी पद, पैसाको लागि नभई जनताको अधिकारका लागि बनेको पार्टी हो त्यसैले केन्द्रले गर्दै आएको प्रदेशमाथिको हस्तक्षेपकारी नीति विरुद्ध भिषण आन्दोलन हुने हुँदा त्यसका लागि तयार रह्न सबैसँग उनले आग्रह गर्नुभयो । पिछडिएको वर्ग र क्षेत्रमाथिको केन्द्रिकृत नीति नफेरिएसम्म अधिकारमुखी आन्दोलन जारी रह्ने उनको दाबी थियो ।
अस्पताल तथा अन्य विकासको सवालमा प्रदेश सरकार पछि नपर्ने भन्दै उहाँले भन्नुभयो,‘ केन्द्रले दिँदै आएको ठाउँमा प्रदेशले दोब्बर बजेट दिएर स्वास्थ्य क्षेत्रलाई सवल बनाउदै अघि बढेका छन् ।’ अधिकारसँगै आफ्नो कर्तव्य पनि बुझ्न सबैसँग आग्रह गर्दै उहाँले भन्नुभयो,‘सार्वजनिक स्थलमा जथाभावी फोहोर नगरी आफ्नो जीवनशैलीलाई सुखमय बनाउन लागुपदार्थ सेवन बन्द गरी स्वास्थ्ययुक्त खानपिनमा ध्यान दिनुपर्ने हुन्छ ।’
सिरहा अस्पतालमा ग्यास पलान्ट, पीसीआर प्रयोगशला, ब्लड बैंक स्थापनासँगै प्रदेश सरकारको लगानीमा अन्य भौतिक प्रगति पनि राम्रो भएको भन्दै उनले भने,‘अवको तीन वर्षभित्र यो अस्पतालको मुहार फेरिनेछ ।’