मंसिर २८,काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन् ।
१४ औं संघीय संसद् सेवा दिवसको अवसरमा सभामुखले बाध्यात्मक व्यवस्थाअनुसार संसद अधिवेशन आह्वान हुनेतर्फ संकेत गर्दै त्यसका लागि तयार रहेको बताएका हुन् ।
'संवैधानिक रुपमा पनि पुस १७(१८ गतेसम्म संसद् अधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको छ,' आइतबार संसद भवन बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने, 'अबको अधिवेशन नयाँ ढंगले चलाउने हो ।'
कोरोना भाइरसको संक्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको सभामुख सापकोटाले बताए ।
'नयाँ ढंगले संविधान कार्यान्वयन गर्ने हो । अहिले अलि परम्परागत, औपचारिक ढंगले चलिरहेका छौं जस्तो लाग्छ । संविधान संशोधनको बाटो खुला छ । रुपान्तरण यहाँबाट सुरु गर्न सकिन्छ । राम्रो कामका लागि हामीले रुपान्तरण गर्न सकिन्छ,' सभामुखले भने ।
संसद् अधिवेशन सरकारले आह्वान गर्ने र अन्त्य गर्ने संविधानमा उल्लेख छ । तर सरकारले अचानक संसद् अधिवेशन अन्त्य गरेको ६ महिना पुग्न लाग्दापनि नबोलाएको अवस्थामा सभामुखको यस्तो भनाइ आएको हो ।
राज्यका प्रमुख निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहेको र व्यवस्थापिकाबाट राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्री चयन हुने भएकोले संसद्को महत्त्व अझ बढी हुने सभामुख सापकोटाको भनाइ थियो । संसद्को आवश्यकता र महत्त्व कानुन निर्माण र सुशासन स्थापना गर्ने काममा धेरै रहने भएकोतर्फ पनि उनले धारणा राखेका थिए ।