मंसिर २८,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेका छन् । संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ आइतबार विहानै खुमलटार पुगेका हुन् ।
भेटवार्तापछि नेम्वाङले प्रचण्डसँग एकता पार्टी जोगाउनेबारे कुराकानी भएको बताए । ‘पार्टी एकता कायमै राख्न प्रचण्ड कमरेड सकारात्मक रहेको पाएँ । उहाँले यसबारे चिन्तत छु भन्नुभयो।’ नेम्वाङले भने ‘प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, तपाईं पनि विभाजन रोक्न सकारात्मक हुनु पर्छ भनेँ।'
नेम्वाङले पार्टीको विवादबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा पनि सुनाएका थिए । आज दिउँसो एक बजे स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक बस्नुअगाडि नेम्वाङले प्रचण्डलाई भेटेका हुन् ।
गएको २१ मंसिरमा शुरु भएको स्थायी कमिटी बैठक एक साता स्थगित गरेर आज बस्दैछ । तर, आजको बैठकमा केन्द्रीय सदस्य कमानसिं लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेर स्थगित गर्ने तयारी भएको छ ।