काठमाडौं, २६ मंसिर । देश गणतन्त्रको अभ्यासमा गएको १२ वर्ष भइसकेको छ । नयाँ पुस्ताका लागि राजसंस्था एकादेशको कथा भइसकेको छ । तर, अहिले एकाएक राजसंस्थाको मागसहित सडकमा प्रदर्शन हुनथालेको छ । विभिन्न नाममा राजसंस्थाको पक्षमा जुलुस निकाल्ने तछाडमछाड नै भएको छ । त्यो पनि राजतन्त्र अन्त भई गणतन्त्र स्थापना भएको थाहा समेत नपाएकाहरु मोटरसाइकलमा चढेर नारा लगाउन थालेका छन् । कस्को कारण किन गणतन्त्रको नारा लागिरहेको छ रु यसको गम्भीर विमर्श हुनथालेको छ ।
राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै यसअघि नाम नसुनिएका विभिन्न संस्थाको नाममा आक्कलझुक्कल प्रदर्शन विगतमा पनि नभएका होइनन् । पछिल्लो समय प्रमुख शहरमै राजावादीको जुलुसमा संख्या थपिन थालेको छ । यही मौका छोप्न कमल थापाले गृहजिल्ला मकवानपुरमा केही सयको जुलुस बल्लतल्ल निकाल्न सके । उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आन्दोलनको शंखघोष भएको भन्दै सबैलाई राप्रपाको नेतृत्वको आन्दोलनमा गोलबन्द हुन आग्रह समेत गरे ।
त्यसको भोलिपल्ट झापामा राजावादीको भव्य जुलुस र सभा भयो । राप्रपाले देशभरमा एकमात्र सांसद राजेन्द्र लिङ्देनलाई त्यहाँबाट जिताउन सकेको थियो । गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निभाएका काँग्रेसका कृष्णप्रसाद सिटौलालाई लिङ्देनले पराजित गरेका थिए । उनै लिङ्देनले नेतृत्व गरेको जुलुसमा हजारौं सहभागी भए । यसलाई सत्तारुढ नेकपाभित्र र बाहिर गम्भीरताका साथ विश्लेषण गर्न थालिएको छ ।
झापा लिङ्देनको मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । प्रधानमन्त्रीकै गृहजिल्ला झापामा राजावादी उर्लिनुलाई हल्का रुपमा लिइएको छैन । यसले विभिन्न आशंका जन्माएको छ । प्रधानमन्त्री ओलीले पार्टीभित्रको विरोधीलाई कमजोर बनाउन अस्त्र फालेको हुनसक्ने अनुमान पनि गरिएका छन् । उनले नभन्दै मङ्गलबार सर्वदलीय बैठक डाकेर देशमा राजनीतिक अस्थिरता निम्त्याउन खोजिएकोले सबै एकजुट हुन आग्रह गरे । नेकपाभित्र विवाद बढेर बैठकमै नगएका ओलीले बालुवाटारमा भने सर्वदलीय बैठक डाके । त्यो पनि राजावादी सडकमा बढिरहेको र गणतन्त्र नै खतरामा पर्न सक्ने निहु देखाएर । यही निहु देखाएर तर्साउन समेत ओलीले शुरु गरिसकेको कतिपयको विश्लेषण छ । उनले आफूलाई सत्ताबाट हटाउन खोजे देश बर्बाद हुन्छ भनेका छन् । पार्टी स्थायी कमिटीमा लिखित पत्र पठाएर उनले यसो भनेका हुन् । आखिर किन उनले आफू सत्तामा नरहे देश बर्बाद हुन्छ भने रु
सत्ता छाडेमा देश बर्बाद हुने भन्दै कुनै हालतमा राजीनामा नदिने पत्रमा लेखेका छन् । कुनै शक्तिसँग नझुक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चुनौती दिएका छन् । उनले नेकपा इतिहासकै गम्भीर संकटमा रहेको पत्रमा लेखेका छन् । ओलीले पत्रमा लेखेका छन्, ‘नेकपा आज इतिहासकै गम्भीर संकटमा छ । यो संकट कुनै बाहय कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह सत्तामोहका कारण निम्तिएको छ ।’ नेकपा मात्र नभई देश नै संकटमा पुग्न लागेको ओलीले देखाउन थालेका छन् । उनले यसो भनिरहँदा राजावादी झन् सक्रिय भएका छन् । विप्लवको गतिविधि झन् बढेर गएको छ ।
एकातर्फ राजावादी सडकमा र अर्कोतर्फ विप्लव भूमिगत रुपमा सक्रिय हुनथालेका छन् । ओलीका लागि यो परिस्थिति सत्ता जोगाउने कार्ड पनि हुनसक्ने देखिदैछ । उनले यसलाई नै देखाएर आफूलाई साथ दिन पार्टीभित्र र बाहिर भन्न थालेका छन् । कुनै हालतमा राजीनामा नदिने अडान लिएका ओलीले त्यस्तो परिस्थित आएमा कठोर कदम चाल्ने धम्की पनि दिएका छन् । राजावादी र विप्लवबाट एकसाथको खतरा पनि देखाएका छन् । ओलीको कार्यकालमा गणतन्त्रविरोधी कसरी सक्रिय भए रु गणतन्त्र नै धरापमा पर्ने गरी राजावादीहरु कसरी सडकमा उर्लिए? भन्ने प्रश्नहरु उठ्न थालेको छ ।