मंसिर २६, काठमाडौं । दुवै अध्यक्षका प्रस्ताव अध्ययनका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेका नेताहरु पछिल्लो समय आफ्नो बहुमत बलियो बनाउनतर्फ लागेका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शार्म ओली र पुष्पकमल दाहालले एक अर्काविरुद्ध आरोप प्रत्यारोपसहित प्रस्ताव सचिवालय बैठकमा पेश गरेसँगै नेकपामा बहुमतको जोडबल हुन थालेको छ ।
पछिल्लो समय अध्यक्ष ओली र दाहाल–नेपाल पक्षका नेताले तल्लो तहसम्म आफ्नो बहुमत भएको दावी गर्न गुटका भेला गर्न थालेका छन् ।
मदन भण्डारी फाउण्डेसनका नाममा अध्यक्ष ओली प्रदेश–१, कर्णाली लगायत विभिन्न स्थानमा यसअघि नै भेला गर्नुभएको थियो ।
यस्तै दाहाल–नेपाल पक्षले पनि विभिन्न स्थानमा आफ्नो समूहलाई प्रशिक्षण दिइरहेका छन् । केही दिनअघि मात्र थापाथली क्याम्पसमा दाहाल नेपाल पक्षका नेताले विद्यार्थी भेला गराएका थिए ।
अध्यक्षद्वयका प्रस्ताव पेश भएपछि सचिवालय बैठक जारी रहेका बेला दुवै पक्षले आफ्नो प्रतिवेदनको बचाउ गर्दै तल्लो तहमा प्रशिक्षण र भेलालाई तीव्र पारेका हुन् ।
बैठकमा सचिवालय र स्थायी कमिटी बैठक जारी रहेका बेला दुई अध्यक्षबीच भएका अनौपचारिक छलफलहरुमा कारवाही गर्न एक अर्काले चुनौती दिएसँगै तल्लो तहसम्म आफ्नो बहुमत देखाउन नेताहरु गुटका भेला गर्न थालेका हुन् ।
यही मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि एक साताका लागि दुवै अध्यक्षलाई छलफलका लागि समय दिइएको भएपनि झन् तिक्तता बढेको छ ।
गत बुधबार अध्यक्षद्वयबीच भएको छलफलमा मिलेर अघि बढ्नभन्दा प्रधानमन्त्री ओली पेलेरै जाने संकेत गरेको दाहाल पक्षका नेताहरुले बताएका छन् ।