मंसिर २६, काठमाडौं। बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण प्रभावित भएको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान नियमित भएको छ।
विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णका अनुसार भिजिबिलिटी बढेपछि केही बेरअघिबाट उडान नियमित भएको हो। वायु सेवा कम्पनीहरूले मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान भर्ख सुरू गरिसकेका छन्।
काठमाडौं उपत्यकामा बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको थियो।
आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एअरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो। बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि उडान ठप्प भएको थियो। अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ।
त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ। आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ। ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ।