पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न नेपाल भारत सहमत !

 कोरखबर   २३ मंसिर, २०७७



मंसिर २३, काठमाडौं । नेपाल भारत पारवहन सन्धि र विद्यमान रेल सेवा सम्झौता संशोधनलाई अन्तिम रुप दिई शीघ्र हस्ताक्षर गर्न दुई देश सहमत भएका छन् ।

नेपालले राखेको सो प्रस्तावलाई भारतीय पक्षले सकारात्मक रुपमा लिएको र यी दुई विषयलाई छिट्टै सम्पन्न गर्नसमेत सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल–भारतबीच पारवहन र अनाधिकृृत व्यापार नियन्त्रणका लागि बनेको नेपाल र भारतका सचिवस्तरीय अन्तर सरकारी समितिको आज सम्पन्न भिडियो कन्फरेन्समार्फत भएको बैठकमा सो सहमति भएको हो ।

सचिवस्तरीय बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा वैकुण्ठ अर्याल र भारतीय टोलीको नेतृत्व भारतको वाणिज्य मन्त्रालयका सचिव अनुप वाधवनले गर्नुभएको थियो ।

वार्तामा नेपाल भारतबीच वाणिज्य क्षेत्रमा भएका सन्धि तथा सम्झौताहरु नेपाल भारत पारवहन सन्धि, नेपाल भारत वाणिज्य सन्धि, रेल सेवा सम्झौता र अनाधिकृत व्यापार नियन्त्रण सम्झौताका विविध विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

वार्तामा दुवैै देशका तर्फबाट सीमा भन्सारको स्तरोन्नति, नेपाल भारत संयुक्त व्यावसायिक मञ्च निर्माण, विविआइएन र एमभिएका विषयहरु, दुवै देशका व्यापारिक वस्तुको गुणस्तर र मापदण्ड, वस्तु व्यापारमा रहेका समस्यालगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएकोे छ ।

व्यापार प्रवद्र्धनका लागि सीमा भन्सारमा रहेको पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने विषयमा द्विपक्षीय वार्ता झैँ यस पटकको वार्तामा समेत दुवै पक्ष सहमत देखिएका छन् ।

भारतीय पक्षले नेपालगञ्जमा एकीकृत जाँच चौकीको निर्माण शुरु भइसकेको तथा भैरहवामा एकीकृत जाँच चौकीको निर्माण शीघ्र शुरु गर्ने तयारीमा रहेको जानकारी गराएको थियो ।

नेपालका तर्फबाट वीरगञ्ज एकीकृत जाँच चौकी तथा विराटनगर एकीकृत जाँच चौकी निर्माणका लागि भारतीय पक्षलाई धन्यवाद दिँदै ती चौकीमा रेल्वे लाइन विस्तार तथा स्तरोन्नतिका लागि अनुरोध गरेको छ ।

त्यसमा भारतीय पक्षले सम्बन्धित सरोकार भएका निकायसँग छलफल अगाडि बढाउने जानकारी दिएको छ ।

नेपालका तर्फबाट दोधारा चाँदनीमा निर्माण गर्न प्रस्ताव गरिएको सुख्खा बन्दरगाहसँग सामञ्जस्यता हुने गरी दोधरा, चाँदनी, वनबासामा एकीकत जाँच चौकी निर्माण र सो स्थानसम्म रेल सेवा विस्तारका लागि गरिएको अनुरोधलाई भारतले सकारात्मक रुपमा लिएको मन्त्रालयले जनाएको छ ।

दोधारा, चाँदी, वनबासा क्षेत्रमा क्रस बोर्डर इकोनोमिक जोन निर्माणका लागि सम्भावनाका लागि विस्तृत अध्ययन अवधारणा तयार गरी थप छलफल गर्ने र यसका लागि नेपालले अवधारणा पत्र तयार गर्ने सहमति भएको छ ।

नेपालले हाल बङ्गलादेशसँगको व्यापारका लागि फूलबारी बङ्गलाबन्ध मार्ग प्रयोग गर्दै आएकामा सो मार्गमा हुने ट्राफिक समस्या समाधानका लागि भारतको एसियन हाइवे २ प्रयोग गर्न पाउने व्यवस्थाका लागि भारतीय पक्षलाई अनुरोध गरेको छ ।

सो अनुरोधमा भारतीय पक्षले सम्बन्धित निकायसँग छलफल गरी नेपाललाई जानकारी गराउने वचन दिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post