मंसिर २२, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्नका लागि सक्रियता बढाएका छन्। संस्थापन पक्षबाट सभापतिमा पुनः शेरबहादुर देउवा नै अघि बढेपनि निधिले उम्मेदवारी फिर्ता नलिने गरी आन्तरिक तयारीमा जुटेका हुन्।
सभापतिको उम्मेदवारीबाट पछि नहट्ने भन्दै निधिले पार्टी पंक्तिमा जानकारी गराइसकेको निधि निकट स्रोतले जानकारी दिएको छ। केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, कांग्रेस समर्थित बुद्धिजीवीलगायतसँग उनले फोनबाट उम्मेदवारीबाट पछि नहट्ने बताइसकेका छन्। निधि निकट एक नेताले भने, ‘आफ्नो पक्षमा माहोल बनाउने गरी पार्टीमा सबैतिर उहाँ (निधि) ले एक चरण संवाद गरिसक्नु भएको छ। उम्मेदवारी फिर्ता नलिने प्रतिबद्धता नै गर्नुभएको छ।’
उम्मेदवारी दिने घोषणा गरेसँगै नेता कार्यकर्ता गरिएको परामर्शले थप बल मिलेको ती नेताको भनाइ छ। ‘बीचमै उम्मेदवारी फिर्ता लिनुहुन्छ कि भन्ने धेरैमा आशंका रहेछ। उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ,’ ती नेताले भने।
१४औं महाधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयनको पक्षमा निधिले आवाज उठाउँदै आएका छन्। संस्थापन पक्ष र इतरबाट चर्चामा रहेका ७ जनामध्ये कुनै एक जनाको नाममा सर्वसहमति हुने परिस्थिति बने निधि पछि हट्ने सक्ने बताइएको छ। निधि निकट नेता भन्छन्, ‘कुनै एकको नाममा अरु ६ जना सहमत भए। उहाँले समर्थन गर्नुहुन्छ।’
पार्टीभित्रको आन्तरिक शक्तिसंघर्ष र गुटगत प्रभावले सर्वसहमति कुनै एकको नाममा सहमति हुने संभावना क्षीण छ। नेता कार्यकर्तामा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकीय भूमिका लिएर विश्राम लिनुपर्ने मत समेत बढ्दै गएको छ। शीर्ष तहमा रहेका दुईलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने मत बढ्दा निधिपछि नहट्ने बलियो आधार पनि बनेको छ।