मंसिर २२ , विराटनगर । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीमा एकतर्फी बहस भएको छ ।
सरकारी वकिलको कार्यालयले सोमबारको पेसी सार्न अनुरोध गर्दै पेस गरेको पत्र अदालतमा दर्ता नै भएन, तर प्रमुख न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासमा उक्त मुद्धामा सिद्धबाबा पक्षका कानुन व्यवसायीले बहस गरे ।
एक अनुयायीमाथिको बलात्कार मुद्धामा सोमबारको पेसी तोकिएको थियो । तर केही दिनअघि बलात्कार मुद्धामा नै थुनामा राख्ने कि नराख्ने भन्ने विषयमा सर्वोच्चसम्म मुद्धा पुग्दा जिल्ला सरकारी वकिल कार्यालयबाट मिसिल महान्यायाधिवक्ता कार्यालय पुगेको र जिल्लामा फिर्ता नआएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।
आफूहरुसँग मिसिल नभएकाले पेशी सार्न माग गर्दै पत्र बुझाएको तर सुनुवाई नभएको जिल्ला न्यायाधीवक्ता गोकुल निरौलाले बताए । सोमबारको इजलासमा पत्र बुझाउँदा न्यायाधीशले बुझ्न अस्वीकार गरेको, दर्ता फाट र श्रेस्तेदारलाई बुझाउदा पनि पत्र नबुझेपछि सरकारी वलिक बहसमा नगएको निरौलाले बताए ।
‘सर्वोच्चमा मुद्धा पुगेपछि मिसिल यहाँबाट महान्याधिवक्ताको कार्यालयमा पुगेको छ’ जिल्ला न्यायाधिवक्ता निरौलाले भने ‘मिसिल आएपछि बहस गर्न केही समय माग गरेका हौं तर पत्र दर्ता नभएपछि इमेल पठाइयो, प्रतिक्रिया आएन । प्रतिवादी पक्षको एकतर्फी बहस भएछ ।’
निरौलाका अनुसार सिद्धबाबाको मुद्दामा बहस गर्ने सरकारी वकिलको सरुवा भएको र मिसिल महान्याधिवक्ताको कार्यालयबाट फिर्ता आइनपुगेकाले केही दिन सार्नका लागि पत्र पेस गरिएको हो ।
जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले सोमबारको इजलासमा प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गरेको बताए ।