बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा !

 कोरखबर   २२ मंसिर, २०७७



चितवन, मंसिर २२ । नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गर्नुभयो ।

बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो । भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० बिघा ११ कट्ठा छ धुर जमीन रहेको छ । बाँड्दाबाँड्दै जग्गा अभाव भएको हो ।

अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले छ बिघा, भरतपुर आँखा अस्पतालले छ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ ।

अस्पतालले करिब १० बिघा मात्रै जमीन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। जगन्नाथ तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब संरचना बनाउन हामीलाई जग्गा छैन ।”

स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ ।  अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उहाँले जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाँड्दाबाँड्दै जग्गा अभाव भयो ।”

अस्पतालको गुरुयोजनाअनुसार संरचना निर्माणका लागि अन्य सङ्घसंस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उहाँको भनाइ छ ।

शैक्षिक प्रतिष्ठानका रुपमा अस्पताललाई विकास गरिँदैछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्न अस्पतालसँग जग्गा नभएको अधिकारी बताउनुहुन्छ ।

मदन भण्डारी ट्रमा सेन्टर, बहिरङ भवन, शैक्षिक कार्यक्रम सञ्चालनका लागि भवन र प्रशासनिक भवन निर्माणका लागि अस्पतालसँग जग्गा छैन । गुरुयोजनाअनुसार संरचना निर्माणका काम भने अघि बढिरहेको छ ।

चितवनसहित १९ भन्दाबढी जिल्लाका बिरामीको उपचार गर्ने सङ्घीय अस्पताल भएकाले जग्गाको अभावमा अस्पतालको विकासमा बाधा नपुग्ने गरी काम अघि बढाउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

तत्कालीन राप्ती दुन विकास कार्यक्रमअन्तर्गत जग्गा वितरण गर्ने आयोग टोली संयोजक कृष्ण बम मल्लले भरतपुर अस्पतालका लागि झण्डै ३१ बिघा जग्गा छुट्याउनु भएको थियो ।

अस्पतालले निर्माण गर्न लागेको गुरुयोजनामा जग्गा नाप गर्दा जम्मा २९ बिघा जति मात्रै जमीन देखिन आएको अस्पतालको अभिलेखमा उल्लेख छ ।डेढ बिघा जग्गा अतिक्रमणको मारमा परेको देखिन्छ ।

विगतमा जग्गा पाएका संस्थालाई उचित ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा अस्पतालको प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको सरोकारवाला बताउँँछन् । रासस 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post