हुलाकी राजमार्ग दुई वर्षमा सञ्चालनमा आउने !

 कोरखबर   २२ मंसिर, २०७७



मंसिर २२,विराटनगर । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ। ३४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ।

हुलाकी सडकको कामबारे आइतबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आयोजना प्रमुख दीपेन्द्र पाण्डेसँग जानकारी लिएका थिए। प्रमुख पाण्डेले करिब ४८ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए। चालु आर्थिक वर्षमा पुलको काम सम्पन्न गर्ने र दुई वर्षभित्रमा सडकको काम सम्पन्न गरिने प्रमुख पाण्डले जानकारी गराए। उनले मन्त्री घिमिरेलाई झापाका आठवटा पुल र मोरङको रतुवामाईमा रहेको पुलका लागि बोलपत्र आह्वानको काम भइसकेको बताए।

उनले भने, ‘रङ्गेली र विराटनगरमा सडकमा केही समस्या छ।’ रङ्गेलीको केही स्थानमा निर्माणको डिजाइनअनुसार नभएको र विराटनगरमा कोशी राजमार्ग पूर्वपश्चिम जोड्नका लागि समस्या भएको प्रमुख पाण्डेको भनाइ छ। हुलाकी राजमार्गमा कुन सडकबाट जोड्नेबारे समस्या भएको उनले बताए। उनका अनुसार विराटनगरमा छ किलोमिटर सडकमा समस्या भएकाले बोलपत्रको काम हुन सकेको छैन।

सामाजिक विकासमन्त्री घिमिरेले आगामी दुई वर्षभित्रमा राजमार्ग सञ्चालन गर्ने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिए। उनले सडक निर्माणमा भएका समस्याबारे प्रदेश सरकारले पनि पहल गर्ने भन्दै हुलाकी सडकको चर्चा धेरै भए पनि काम नदेखिएको मन्त्री घिमिरेले चिन्ता व्यक्त गरे।

मन्त्री घिमिरेले डिभिजन सडक कार्यालयका प्रमुख पशुपति ज्ञवालीसँग पनि मोरङ र सुनसरीका पुलको अवस्थाका बारेमा पनि जानकारी लिएका छन्। प्रमुख ज्ञवालीले चालु आर्थिक वर्षभित्रमा करिब १० वटा पुल निर्माण सम्पन्नको चरणमा रहेको बताए।

पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निर्धारित समयमा काम पूरा हुन नसकेको उनले बताए। सडक निर्माण भए पनि पुल निर्माण सम्पन्न नहुँदा समस्या भएका पुलको निर्माण भइरहेको मन्त्री घिमिरेसमक्ष जानकारी गराएका थिए। रासस 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post