मङ्सिर २१, विराटनगर । कोरोना कहरका कारण नेपाल–भारत सीमा नाका बन्द भएको लामो समय भइसक्यो। आवतजावत बन्द गर्दै दुई देशीय सीमा सिल गरिएको छ। तर पनि अवैध रुपमा हुने आयात, निर्यात रोकिएको छैन। तस्करीमा संलग्न गिरोहले सुरक्षाकर्मीलाई छल्दै नेपालबाट भारत र भारतबाट नेपालतर्फ सामानको तस्करी गरिरहेका छन्। पछिल्लो एउटा घटनाले विराटनगरमा गोदाम नै भाडामा लिएर तस्करी धन्दा चलाउने गरिएको पुष्टि गर्छ।
विराटनगर महानगरपालिका–११ का २६ वर्षीय जितेन्द्र भगतले गोदाम भाडामा लिएर चिनी, खैनी, चकलेट, मच्छड धुप लगायतका सामानको तस्करी गरिरहेको खुलेको हो। भगत विराटनगरमा किराना पसल सञ्चालन गरेर बसेका व्यापारी हुन्। पसल सञ्चालन गरेर बसेका उनले भारतबाट अवैध रुपमा सामान भित्राउँदै गोदाममा ‘स्टक’गरेर बिक्री गर्ने गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।
भन्सार छली गरेर सामान ल्याउँदै भाडाको गोदाममा भण्डारण गरेर किराना पसलमार्फत बिक्री गर्ने र अन्यत्रसम्म पुर्याउने गरेको पाइएपछि भगतलाई पक्राउ गरिएको उनको भनाइ छ। राईका अनुसार भाडाको गोदाममा प्रहरीले छापा हान्दा तस्करी गरेर अवैध रुपमा भारतबाट नेपाल ल्याएपछि भण्डारण गरिएको अवस्थामा सामानहरु पनि फेला परेका छन्।
मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार आफ्नै घरमा किराना पसल चलाइरहेका भगतले विराटनगर–६ का सञ्जित साहको घरको कोठा भाडामा लिएर तस्करीका सामान भण्डारण गर्ने गरेको पाइएको छ। विराटनगर वडा नम्बर ११ र ६ को सीमानामा सडक पर्छ। भगतले सञ्चालन गरेको पसल र तस्करीको सामान भण्डारण गर्न भाडामा लिएको घर सडक वारिपारि छ।
विशेष सूचनाका आधारमा भगतले भाडामा लिएको गोदाममा प्रहरीले शनिबार छापा मारेको हो। त्यस क्रममा तस्करीको ४० बोरा ९प्रति बोरा ५० किलो० चिनी, बलवाल खैनी ३० पोका, म्याङ्गो चकलेट, मिल्क चकलेट र मच्छड धुप बरामद गरिएको एसपी खड्काले बताए। ‘कोरोनाका कारण दुई देशबीच अवातजावत बन्द गरिएको भए पनि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई छल्दै चोर बाटोको प्रयोग गरेर भारतबाट किराना सामानको तस्करी गर्ने गरेको पाइयो’, उनले भने, ‘ती सामान भण्डारण गरेर राख्न गोदाम नै भाडामा लिएको नयाँ घटना खुलेको छ।’
खड्काका अनुसार तस्करी गरेर भित्र्याइएका सबै खाले सामान ‘स्टक’ गर्न एक साताको प्रति बोरा ५० रुपैयाँ तिर्ने गरी कोठा भाडामा लिएको पाइएको छ।
गोदाममा भण्डारण गरिएका सामानको खरिद बिल देखाउन नसकेपछि सामान नियन्त्रणमा लिएर भगतलाई पनि पक्राउ गर्दै आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको एसपी खड्काको भनाइ छ।