मंसिर १७, काठमान्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीपनि सहभागी हुने भएका छन् । बैठक सुरु भएपनि उनी अरु नेता भन्दा केही ढिलागरी बैठकमा सहभागी हुने बताइएको छ ।
यसअघि बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिएका ओली बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको छलफलपछि भने बैठकमा सहभागी हुने भएका हुन् । उनी बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक केहीबेर पर सारिएको थियो । बैठकअघि ओली र प्रचण्ड दुबै पक्षको रणनीतिक छलफल भएको थियो भने सोहीअनुसार उनीहरु सचिवालयमा प्रस्तुत हुनेछन् ।
बालुवाटारको रणनीतिक बैठकमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ लगायतको सहभागिता रहेको थियो भने सो छलफलमा पनि ओलीले प्रचण्डको प्रस्तावको आलोचना गर्दै त्यसको खारेजी हुनैपर्ने बताएका थिए ।
यस्तै कार्यकारी अध्यक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पनि खुमलटारमा बसेको थियो । बुधबार बिहान बसेको सो बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको सहभागीता रहेको बताइएको छ ।