मंसिर १७,काठमाडौं । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै भएपछि बुधबारको बैठकमा नआउने बताएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफूनिकट नेताहरुसँग छलफल गरिरहेका छन्।
नेपाल कम्युन्ष्टि पार्टी (नेकपा) को सचिवालय बैठक बुधबार दिउँसो १ बजे बस्दैछ। आज दिउँसो पुनः बैठक बस्ने गरी मंगलबार स्थगित भएको थियो। नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो बैठकमा आरोप–प्रत्यारोप भएपछि ओलीले बुधवारको बैठकमा उपस्थित नहुने बताएका थिए। ओली उपस्थित नभए पनि आजको बैठक अघि बढाउने दाहाल पक्षको तयारी छ।
नेकपामा पछिल्लो समय चर्किएको शक्ति संघर्ष दुई अध्यक्षबीच बैठकमा बाहेक बोली बाराबारको अवस्थामा छ। अध्यक्षद्वय ओली र दाहालबीचको विवाद लिखित रुपमै आरोप प्रत्यारोपको उच्चतम तहमा पुगेको छ। एकले अर्कोलाई पार्टी विभाजन गर्न खोजेको लिखित आरोप लगाएपछि परिस्थिति थप गम्भीर बनेको हो।
बैठकको औचित्य नरहेको भन्दै ओलीले बैठकमा उपस्थित नहुने बताएको केही नेताले सार्वजनिक गरेका थिए। यहीकारण पनि बुधबारको बैठकमा अब कसरी प्रस्तुत हुने भन्नेबारे ओलीले आफूनिकट नेताहरुसँग छलफलमा जुटेका हुन्। केही नेतालाई बालुवाटार बोलाएर तथा केही नेतासँग टेलिफोनमै छलफल गरिरहेको प्रधानमन्त्री निकट स्रोतले बतायो।
ओलीनिकट स्थायी कमिटी सदस्य एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ओलीले ‘बैठकको आवश्यकता छैन’ भनेर नभनेको बताए। “कार्यव्यस्तता छ, बुधबारको वैठकमा उपस्थित हुन सक्दिन भन्नुभएको हो,” उनले भने, “२४ घण्टा पार्टीका बैठक गरेर त भएन नि, प्रधानमन्त्रीका महत्वपूर्ण कामहरु हुन्छन्। कार्यव्यस्तता हुन्छ। पार्टीको बैठक भनेर महत्वपूर्ण कामहरुलाई रोक्ने कुरा पनि त भएन।”
मंगलबारको बैठकमा पार्टीमा उत्पन्न गम्भीर समस्यालाई ध्यानमा राखेर अनौपचारिक सम्वाद अघि बढाउनेबारे छलफल भएको थियो। सचिवालयमा प्रस्तुत भएका दुवै अध्यक्षका प्रस्तावलाई पार्टी कमिटिकै बैठकबाट टुंगो लगाउने तयारीमा दाहाल जुटेको उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए। नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको समेत साथ रहेकाले सचिवालयमा बहुमत पुग्ने आकलनमा रहेका दाहाल ‘अब जे गर्छ बैठकले नै गर्छ’ भन्दै आएका छन्।
मंगलबारको बैठकमा ओलीले दाहालको प्रस्ताव आफूविरुद्धको आरोपपत्र भएको भन्दै त्यसलाई फिर्ता लिनैपर्ने अडान राखेका थिए। स्रोतका अनुसार ओलीले दाहालको प्रश्नमा छलफल हुन नसक्ने, प्रस्ताव फिर्ता लिनुुपर्ने तथा पार्टीको पद्धति तथा विधान उल्लंघन गरेर निजी प्रस्ताव पार्टीको आधिकारिक लोगोसहित छापेर वितरण गरेकाले दाहाललाई अनुशासनको कार्वाही गर्नुपर्ने बताएका थिए। सचिवालयका एक सदस्यका अनुसार त्यसपछि आक्रोशित बनेका दाहालले ओलीलाई ‘मेरो प्रस्तावमा छलफल हुँदैन, फिर्ता लिनुस् भनेर भन्ने तपाँई को हो रु’ भन्दै प्रतिप्रश्न गरेका थिए।
ओलीनिकट स्थायी कमिटी सदस्य नेम्वाङ पनि दुवै अध्यक्षका प्रतिवेदनलाई सहमतिमा संयुक्त प्रस्ताव बनाएर ल्याउनुपर्ने बताउँछन्। “अहिलेसम्मका प्रस्तावलाई केन्द्रीय कार्यालयमा राख्दिने र दुवै जना अध्यक्षलाई ‘तपाइँहरुले संयुक्त प्रस्ताव ल्याउनुस्’ भन्ने, त्यसैमा आधारित भएर अघि बढ्नुको विकल्प छैन। अघि बढ्ने योभन्दा अर्को विकल्प म देख्दिनँ”, उनले भने।