सन् २०२२ मा नेपालमा पर्यटकको संख्या निकै बढ्नेछ : पर्यटनमन्त्री

 कोरखबर   १५ मंसिर, २०७७



मंसिर १५,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले सन् २०२२ मा नेपालमा पर्यटकको सङ्ख्या निकै बढ्ने बताए ।

रत्ननगर नगरपालिका– ५ जनकौलीमा निर्माण हुन लागेको केटिएम हस्पिटालिटीको ‘द फरेष्ट फ्रन्ट’ नामक होटलको आज शिलान्यास गर्दै उनले विगतका वर्ष भन्दा बढी पर्यटक एक वर्षपछि नेपालमा आउने बताए ।

मन्त्री भट्टराईले लामो समय घरमा रहनुपरेकाले कोरोना सङ्क्रमण अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उल्लेख गरे । उनले भने, “सन् २०२० को अन्त्यमा आउँदा पर्यटन क्षेत्र ब्युँतिएको छ, सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।” उनले सन् २०२१ सँगै स्वदेशी पर्यटक निकै बढ्ने बताए । उनले भने, “यो क्षेत्र अगाडि आउँछ, विशेषगरी २०२१ मा आन्तरिक पर्यटनमा जोड गर्नेछौँ ।”

नेपालीमा मध्यम र माथिल्लो वर्गको महत्वपूर्ण हिस्सा परिवारसहित घुम्न जाने प्रचलन स्थापित भएको उनको भनाइ थियो । उनले कोरोना सङ्क्रमण घटेसँगै घुम्न नपाएर बसेका नेपालीले स्वदेशी गन्तव्यमा भ्रमण गर्ने बताए । अहिले नै महत्वपूर्ण पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटक आउन थालेको उनको भनाइ थियो ।

तत्कालै अन्तरराष्ट्रिय क्षेत्रबाट ठूलो अपेक्षा नभएको उल्लेख गर्दै उनले भने, “पर्यटकीय गन्तव्य, होटललगायतमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।” पर्यटकले यहाँको अर्थतन्त्र चलायमान हुने र विश्वलाई चिनाउने मन्त्री भट्टराईको भनाइ थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post