मङ्सिर १२,बर्दिबास । प्रहरीको गोलीले ६४ वर्षीय वृद्ध अम्बिका न्यौपानेको छोरा, सञ्जय न्यौपाने खोस्यो । पतीको मृत्युले गंगा न्यौपानेको सिउँदो पुच्छियो । उनका तीन सन्तान टुहुरो भए । अन्याय विरुद्ध बोल्ने महोत्तरीको बर्दिबास-१ का ४२ वर्षीय सञ्जय न्यौपाने अब रहेन । उनको मृत्युले गाउँ शोकमा डुबेको छ । गाउँले प्रहरी विरुद्ध तीन दिनदेखि राजमार्ग बन्द गराएर प्रदर्शन गरिरहेका छन् ।
बालिका गुलाब्सा खातुनको हत्याको विरोधमा महोत्तरीको बर्दिबासमा सञ्जय प्रदर्शनमा उत्रिएका थिए । प्रहरीले प्रहार गरेको गोली लागेर उनको ज्यान गयो । "प्रहरीले संजयलाई तोकेरै पछाडिबाट तीघ्रामा गोली हान्यो," सञ्जयकी आमा अम्बिकाले भनिन्, "पुलिसलाई गोली हान्ने आदेश कसले दियो, कुन प्रहरीले चलायो ।दुवैलाई कारबाही हुनैपर्छ ।" छोरोको मृत्युले अम्बिका मर्माहत भएकी छन् । परिवार गहिरो शोकमा डुबेको छ । सञ्जय घरमै किराना पसल संचालन गर्दै आएका थिए ।
महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी बालिका गुलाब्सा खातुनको हत्या भएको थियो । त्यही घटनाले तनाब बढ्यो । गाउँबाटै अपहरणमा परेकी बालिको शव ३५ घण्टापछि झाडीमा भेटियो। हत्या गरेर बोरामा गुलाब्सको शव लुकाइएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै सडकमा प्रदर्शन सुरु भयो ।
बालिका गत आइतबार बेपत्ता भएकी थिइन् । सोमबार मध्यरातमा उनको शव फेला परेको थियो । बालिकाको हत्या आरोपमा महोत्तरीको गौशाला–५ का २६ वर्षीय अरुण साहलाई प्रहरी पक्रेको छ ।
बलिका हत्या प्रकरण गृहमन्त्रालले तीन सदस्य छानविन समिति गठन गरेको छ । "गृहमन्त्रालयले तीन सदस्य छानविन टोली गठन गरेको छ, " शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेले भने, "पीडित पक्षले उठाएको माग सम्बोधन गर्न गृहमन्त्री सहमत हुनुभएको छ ।"
मन्त्री पोखरेलकै निर्वाचन क्षेत्रमा घटना भएको हो । मन्त्री पोखरेलले वार्ताका लागि गृहमन्त्री र वार्ता टोलीलाई भेटाउने पहल गरेका थिए। गृहमन्त्रीको त्यो वार्तामा राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाल पनि त्यहाँ उपस्थित थिइन् ।
"प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेलाई सहिद घोषण गर्ने प्रक्रियामा लैजाने मन्त्रीज्यूले हामीलाई आश्वासन दिनुभयो," वार्ता टोलीका सदस्य तथा बर्दिबास नगरपालिका– १ वडा अध्यक्ष चुडामणी पोखरेलले भने, " बिहीबार साँझ मृतक सञ्जयको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।"
यता परिवारजनले बालिकाको शव बुझेका छैन ।उनको शव प्रादेशिक अस्पताल जनकपुरमा छ । प्रहरीको गोली लागेर ज्यान गुमाएका सञ्जयका परिवारलाई क्षतिपूर्तिको व्यवस्था, घाइतेको निःशुल्क उपचार गर्ने गृहमन्त्रीले वार्ता टोलीलाई जानकारी गराए । बालिका हत्यारा हदैसम्मको कारबाही गर्ने समेत प्रतिबद्धता जनाएको वार्ता टोलीका सदस्य हीरा गौतमले भने जनाए ।
बालिका हत्या आरोपी अरुण साहले गत बैशाखमा आफ्नै साथीको हत्या गरेका थिए । पछि उनलाई अदालतले धरौटी राखेर तारिखमा रिहा भएका थिए। फेरि उनैले आइतबार बालिकाको अपहरणपछि हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।
गोली चलाएर प्रहरीले दमन गरेको भन्दै आन्दोलनकारीले तेस्रो दिन बिहीबार पनि दिनभरी टायर बालेर राजमार्ग ठप्प पारे । बजार बन्द रह्यो । साँझ ५ बजे प्रहरीले लाठी चार्ज गरेर सात घण्टापछि राजमार्ग खुलाएका थिए ।
बर्दिबास नगरपालिकाले मृतक बालिका गुलाब्सा र गोली लागेर ज्यान गुमाएका सञ्जयका परिवारलाई जनही २ लाख ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।बर्दिबास नगरपालिकाले पत्रकार सम्मेलन गरेर गोली लागेर मृत्यु भएका परिवारका एक सञ्जयको परिवारका एकजना सदस्यलाई क्षमताको आधारमा रोजगारी समेत उपलब्ध गराउने बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीले जनाए ।ु
'मृतक बुद्धिराज (सञ्जय) न्यौपानेलाई सहिद घोषणा तथा दुवै परिवारलाई राहत क्षतिपूर्ति एवं घाइतेको निःशुल्क उपचारका लागि सरकारसँग जोडदार माग गर्दछु,’ बर्दिबास नगरपालिका मेयर विदुर कुमार कार्की जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, "घटनामा दोषी उपर कानुनी कारबाही गर्न स्थानीय सरकार, जनप्रतिनिधि, राजनैतिक दल, नागरिक समाज सबै क्रियाशिल एवंम प्रतिबद्ध छ ।’
'आवेगद्वारा होइन्, विवेक र धैर्यताद्वारा वास्तविकतामा पुग्न र आनावश्यक टिप्पणी, लान्छाना र आरोपबाट माथि उठी तथ्यमा आधारित भइ आफ्ना विषयहरु सबैले व्यक्त गर्नुपर्छ, ' प्रेस विज्ञप्तिमा मेयर कार्कीले भनेका छन्, 'विषम परिस्थिमा संयम अपनाई दोषी उपर कानुनी कारबाही गरी पीडितलाई न्याय उपलब्ध गराउने कार्यमा सहयोग गरिदिन सबैमा अपिल गर्दुछु ।'
घटनामा घाइते भएका श्याम कार्की र अफताब आलमको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।प्रदेश– २ को प्रदेश सभा अन्र्तगतको महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति जैनुल राइनले घटनाको सत्यतथ्य बुझ्न घटना स्थल, पीडित परिवारलाई भेटेका छन् । अन्नपुर्ण पोष्टबाट