विप्लवको गतिविधि बढेको आशङ्का, हुम्लाका गाउँगाउँमा सुरक्षा गस्ती !

 कोरखबर   १२ मंसिर, २०७७



मंसिर १२, हुम्ला । पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।

जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन शुरु गरेको छ ।

सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मङ्सिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए ।

पहिलोपटक मङ्सिर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए ।

पन्ध्र नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ । केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् । 

गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post