परराष्ट्रमन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई भारतको निम्तो !

 कोरखबर   १२ मंसिर, २०७७



१२ मंसिर, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन् ।

बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने विषयमा दुवै पक्षको बिचमा कुराकानी भइरहेको छ । मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका लागि निम्तो दिएको स्रोतले बतायो । अब केही दिनमा नै यकिन मिति तय हुने अधिकारीहरुले जानकारी दिएका छन् । समग्र द्विपक्षीय विषयहरुमा बुँदागत छलफल गरेर देखिएका समस्या समाधान गर्ने र अन्य द्विपक्षीय संयन्त्रलाई आवश्यक निर्देशन दिने म्यान्डेट सो आयोगलाई छ ।

सो आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा बसेको थियो जसले कालापानी र सुस्तालगायतका विवाद समाधानका लागि गृहकार्य गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएको थियो । त्यसपछि सन् २०१६ र २०१८ मा सो आयोगको बैठक बसेको थियो । सो बैठक दुवै देशले पालैपालो गर्ने परम्परा छ ।

द्विपक्षीय संयन्त्रका बैठकहरु सुचारु हुने

कोभिड–१९ र दुई देशको सीमा विवादका कारण नेपाल र भारतको बिचमा रोकिएका द्विपक्षीय संयन्त्रका बैठकहरु सुचारु गर्ने विषयमा समेत कुराकानी भएको छ । नेपाल र भारतको बिचमा डेढ दर्जन द्विपक्षीय संयन्त्रहरु रहेका छन् जसको नियमित बैठक हुन सकेको छैन ।

यस अगाडि नै नेपालले विभिन्न संयन्त्रका बैठकका लागि भारतसँग प्रस्ताव गरे पनि अगाडि बढ्न सकेको छैन । नेपालले सबैभन्दा पहिला बाउन्ड्री वर्किङ ग्रुपको बैठक छिट्टै गर्न प्रस्ताव गरेको छ । सो संयन्त्रले सुस्ता र कालापानीबाहेक नेपाल र भारतको बिचमा रहेका अन्य प्राविधिक विषयहरु हेर्ने गर्छ ।

कोभिडमा अझ सहकार्य हुने

नेपाल भ्रमणको क्रममा भारतीय विदेश सचिवले कोभिड–१९ को बारेमा नजिकको सहकार्य गर्ने प्रस्ताव गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटपछि उनले नेपाल एउटा नजिकको मित्र भएकाले कोभिडसँग सम्बन्धित सहयोग गर्न पाउँदा खुसी भएको बताए । उनले  विगतदेखि अहिलेसम्म कोभिड–१९ लाई नियन्त्रण गर्न विभिन्न सहयोग गरेको र नेपालको आवश्यकता अनुसार थप सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।

उनले भने, ‘हामीले कोभिड–१९ को सम्बन्धमा अहिलेसम्म भएका प्रगतिहरुको बारेमा छलफल गर्यौं ।’ उनले भारत विश्वको सबैभन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने मुलुक भएको समेत बताए । उनले अगाडि भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ ।’ उनले कोरोनाको सम्बन्धमा नेपाल र भारतको बिचमा अझ नजिकको सहकार्य गर्नुपर्ने समेत बताए ।

यसैबिच परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै दुई देशको बिचमा व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार निर्माण लगायतका विषयमा कुराकानी भएको जनाएको छ । स्रोतका अनुसार दुई देशको पञ्चेश्वर परियोजनालाई सकेसम्म छिटो टुंगोमा पु¥याउने विषयमासमेत विस्तृतमा कुराकानी भएको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post