'सरकार मनको गरिब होइन, आर्थिक क्षमता तपाईंहरुलाई थाहै छ' : प्रम ओली

 कोरखबर   ११ मंसिर, २०७७



मंसिर ११,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ ले अर्थतन्त्रमा पारेको असरलाई मिलेर नै पराजित गर्न सकिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभाको आज सरकारी निवास बालुवाटरमा उद्घाटन गर्दै उनले संयुक्त प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताए । त्यस दिशामा सरकारले पनि प्रयास गरिरहेको र गर्ने प्रतिबद्धता जनाए ।

“कोभिड १९ ले अर्थतन्त्रलाई पारेको असरलाई पराजित गरेर अर्थतन्त्रलाई माथि उकास्नुछ,” उनले भने, “गत वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका थियौं तर करिब जिरोको अवस्थामा पुगेका छौं । अरु देश ऋणात्मकको अवस्थामा पुगेका छन्, शून्य वा थोरै भए पनि प्लसको स्थितिमा छौं ।”

प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएको पनि बताए । अरु देशका सरकारले उद्योग व्यवसायलाई अगाडि बढाउन गरेको सहयोगको आकारलाई लिएर हाम्रो सरकारले केही गरेन भनेर नसोच्न आग्रह गरे । “सरकार मनको गरिब होइन, आर्थिक क्षमता साथीहरुलाई थाहा छ,” उनले भने, “आफ्नो अभिभावकको गच्छेअनुसारै सहयोग पाउने अपेक्षा गर्नुपर्छ ।” सरकारले आफ्नो गच्छेअनुसार निजी क्षेत्रलाई सहयोग दिन सरकारले सहयोगको हात अगाडि बढाउने बताए ।

उनले साधारणसभाले कोभिड १९ र अबको अर्थतन्त्रको विषयमा गहन छलफल गर्ने र निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । साधारणसभाले निकाल्ने निष्कर्ष सरकारले पाउने अपेक्षा गर्दै उनले सुझाव वा निष्कर्षले सरकारलाई पनि आगामी दिनमा अगाडि बढ्न सहयोग पुर्‍याउने उनले बताए । उनले सरकारले सबै उद्यमी, व्यवसायीलाई समान नजरले हेरेको बताए ।

“उद्यमी व्यवसायीमा मेरो पक्ष र तेरो पक्ष हुँदैन । सबै व्यवसायी, उद्यमी, राष्ट्रका निम्ति काम गरिरहेका, राष्ट्रका निम्ति कर तिरिरहेका, राष्ट्रका साझा सम्पत्ति हुन् । राज्यका नजरमा सबै समान छन्,” उनले भने । उनले सबैलाई कानुनसम्मत, यथोचित ढंगले संरक्षण, सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरे । तर, उद्यमी व्यवसायीले आफ्नो कारोबार भने निष्पक्ष रुपमा गर्नुपर्ने बताए ।

उनले मन नपरेकालाई नवउदारजस्ता विश्लेषण गरेर आतंकित गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए । उनले सरकराले राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योगलाई जोड दिएको बताए । देशका पूँजीपतिलाई सवाल बनाउन चाहेको उनले बताए ।

नेपालमा धेरै अवसर रहेको भन्दै प्रधानमन्त्री ओलीले यहाँको पूँजी बाहिर लगेर लगानी गर्नु उचित नभएको पनि बताए । “देशप्रति माया गरौं । लगानीको अवसर सकिएको छैन, अवसर धेरै छ, लगानी गर्नुहोस्” उनले भने । हाम्रो श्रम बजार सस्तो भएका कारणले पनि उहाँको उद्यम बढी मुनाफामा जाने उनले बताए । “बाहिर लगानी गर्न खोज्यो भने त्यो उल्टो बाटो हुन्छु । न्यायोचित हुने सहुलियत सरकार दिन तयार छ । उत्पादकत्व बढाउनुहोस्, रोजगारी बढाउनुहोस् अनि निर्यात गर्नुहोस्, हामी उपभोक्ता मात्रै नबनौं उत्पादक पनि बनौं,” उनले भने । त्यस अवसरमा महासंघले प्रधानमन्त्री ओलीलाई सम्मान गरेको थियो । —फाइल तस्बिर



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post