झारफुकको बहानामा बलात्कार, आरोपी पक्राउ !

 कोरखबर   ११ मंसिर, २०७७



मंसिर ११,सिराहा । सिराहाको लहानकी एक युवतीलाई झारफुकको बहानामा बलात्कार गरेको आरोपमा मौलाना पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० घर भई अहिले लहान–१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसन पक्राउ परेका हुन् । उनले झारफुक गराउन आएकी २३ वर्षीया युवतीलाई मंगलबार दिउँसो बलात्कार गरेको आरोप लागेको छ ।

बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, सिराहाले जनाएको छ । प्रहरीका अनुसार पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए । बुधबार जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको डिएसपी क्षेत्रीले बताए ।

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तले बताए । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यसपछि आफन्तहरू उनको घर पुगेर केरकार गरेका थिए । उनीहरूले मौलानालाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post