अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा देखाईयो !

 कोरखबर   १० मंसिर, २०७७



मंसिर १०, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा।बि रानिबगिया र पर्रोहा मा।बि। मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए । प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताए ।

गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ ।

आफूलाई बुटवलमा कालो झण्डा देखाइएको विषयमा प्रतिक्रिया दिँदै महासचिव पौडेलले त्यसलाई आफूले ‘विकास विरोधी झण्डा’को रुपमा बुझेको बताएका छन् । उनले लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई रहने भएकाले त्यसको सम्मान गर्ने पनि बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post