बर्दिया सैनिक मृत्यु प्रकरणमा ४ जना पक्राउ !

 कोरखबर   १० मंसिर, २०७७



मंसिर १०,बर्दिया । मंसिर ३ गते वनभोज खान गएका नेपाली सेनाका सिपाही विष्णु रनपालको मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

वनभोजमा दुई समूहबीच भएको झगडापछि केही व्यक्तिले लखेट्दै जाँदा नहरमा डुबेर सिपाही रनपालको मृत्यु भएको आशंका गरिएको छ । घटनामा संलग्न १० जना व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका—१ का २८ वर्षीय निरपेन्द्र वन, सोही ठाउँका २३ वर्षीउ प्रभात वन, ठाकुरबाबा—२ का ओमबहादुर विक र बारबर्दिया नपा—६ का १७ वर्षीय किशोर रहेको बताए । घटनामा संलग्न भएको आरोपमा १४ जनाविरुद्ध किटानी जाहेरी परेको थियो । किटानी परेकामध्ये १० जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

मंसिर ३ गते बारबर्दिया नगरपालिका-१ स्थित बबई नदीको बॉध परेवाओडारदेखि करिब एक किलोमिटर दक्षिणमा वनभोज खान गएका दुई पक्षबीच विवाद हुँदा झडप भएको थियो । इलाका प्रहरी कार्यालय,बनियाभार, बारबर्दियाका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार झडपमा ढुंगामुढासमेत प्रयोग भएको अनुसन्धानमा देखिएको छ । सैनिक रनपालको शव मंसिर ४ गते नहरमा फेला परेको थियो ।

विष्णुलाई नहरमा फालेको पीडित परिवारले आरोप लगाएका छन् । मृतकका बाबु धनबहादुर दमाईले छोरालाई कुट्दै लखटेर नहरमा फालेपछि मृत्यु भएको आरोप लगाएका छन् । उनले छोराको हत्यामा १४ जना संलग्न रहेको भन्दै उनीहरुविरुद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । भद्रकाली गण, काठमाडौंमा कार्यरत विष्णु तिहार बिदामा घर आएका थिए । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको इलाका प्रहरी कार्यालय, बनियाभारले जनाएको छ ।

वनभोजस्थल जंगल क्षेत्र भएकाले आसपासमा घर,प्रहरी चौकी नभएका कारण सुरक्षाको दृष्टिले निकै जोखिम मानिन्छ । स्थानीयले यस क्षेत्रमा वनभोज खाने कार्य रोक्नु पर्ने माग गर्दै आएका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post