देशभरका १५ ठाउँमा एकै दिन आगलागी, करोड बराबरको क्षति !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९,काठमाडौँ। एकै दिन देशका १५ स्थानमा भएको आगलागीका घटनामा साढे ८५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ। सोमबार विभिन्न स्थानमा भएको आगलागीमा उक्त क्षति भएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ वासिकस्थित एक टहरोमा आगलागीहुँदा ४० लाख ८५ हजार रूपैयाँबराबरको क्षति भएको छ। आगलागी हुँदा टहरोभित्र रहेको नगद र सम्पूर्ण सामान जलेर नष्ट भएको प्राधिकरणले जनाएको छ। 

रामेछाप नगरपालिका–३ साँघुटारस्थित हिमगंगा माध्यामिक विद्यालयको प्राविधिक पशु विज्ञान फर्मको कच्ची भवनमा आगलागी हुँदा २३ लाख ५ हजार ५ सय रूपैयाँको क्षति भएको छ।  आगलागी हुँदा भवन पूर्ण रूपमा जली १०० वटा कुखुरा, १६ वटा हाँस र ३ वटा टर्की कुखुरसमेत जलेको जनाइएको छ। 

सुनसरीको दुहबी नगरपालिका–२ प्रास्टोकीस्थित एक घरको भान्साबाट आगलागी हुँदा खाद्यान्न, भाँडावर्तन र चिरान काठ जली ३ लाख ५० हजार रूपैयाँबराबरको क्षति भएको छ।

मोरङको सुनबर्सी नगरपालिका–८ विश्वकर्मा चोकस्थित दुईवटा घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा र भाँडावर्तन गरी ५ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

सोमबार नै सुनसरीको बराहक्षेत्र नगरपालिका–७, सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मकवानपुरको थाहा नगरपालिका–३, झापाको गौरादह नगरपालिका–२, पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, कपिलवस्तुको बाणगंगा नगरपालिका–३, महोत्तरीको औरही नगरपालिका–४, सप्तरीको राजगढ गाउँपालिका–३, चितवनको कालिका नगरपालिका–५, कञ्चनपुरको बेदकोट नगरपालिका–१ र बाँकेको खजुरा गाउँपालिका–८ मा पनि आगलागीको घटना भएको प्राधिकरणले उल्लेख गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post