मंसिर ९,काठमाडौं । जनता समाजवादी पार्टी नेपालले कोरोना संक्रमणको जोखिमका कारण बन्द गरिएका भारतिय सिमा नाकाहरू तत्काल खुला गर्न माग गरेको छ।
जसपाका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले आज विज्ञप्ति जारी गर्दै लामो समयदेखि सिमानाका बन्द हुँदा सिमा क्षेत्रका नागरिकको जनजीवन कष्टकर हुने अवस्थामा पुगेको भन्दै तत्काल सिमानाका खुला गरी व्यवस्थित र सहज बनाउन आग्रह गरेका हुन्।
लामो समय सिमानाका बन्द गरिँदा सिमा क्षेत्र तराई–मधेसका नागरिकमा कृषि, शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक, समाजिक आदि क्षेत्रमा गम्भीर समस्या देखा परिरहेको जसपाको ठहर छ।
सीमानाका बन्द हुँदा मुलुककै अर्थतन्त्र धरासयी बनेको विज्ञप्तिमा उल्लेख छ। साथै जसपाले कोरोना महामारी अझै फैलन नदिन प्रभावकारी ढंगले काम गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको जोखिम भत्ताको उपलब्धता, अस्पताल, स्वास्थ्य उपकरण, जनशक्ति र औषधि यथाशीघ्र उचित ब्यवस्थापन गर्न आग्रह गरेको छ।