बर्दिबासमा गोली चल्यो, १ जना घाइते !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, काठमान्डौ । ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।

आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार साँझदेखि हराएकी थिइन् भने उनको शव सोमबार मध्यरात हत्यापछि बोरामा फ्याकिएको अवस्थामा फेला परेको थियो । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको दावी गरेपनि प्रहरीले भने अनुसन्धानकै क्रममा रहेको भन्दै केही बताइसकेको छैन ।

आक्रोशित स्थानीयले अहिले बर्दिबासको मुख्य सडकमा बालिकाको शव राखेर ‘बलात्कारीलाई फासी दिनुपर्ने’ माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रहरीले बालिकाको हत्या गरेको आरोपमा महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post