लागू औषधको कारोबार गर्न घर भाडामा , ४ जना पक्राउ !

 कोरखबर   ८ मंसिर, २०७७



मंसिर ८, झापा । घर नै भाडामा लिएर लागू औषधको कारोबार गर्दै आएका श्रीमान्–श्रीमती (दम्पत्ति) सहित झापा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

झापाको मेचीनगर नगरपालिका–७ सिद्धार्थ टोलमा घर नै भाडामा लिएर लागू औषधको कारोबार हुने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको टोलीले ४ जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लागू औषध बिक्री गर्ने सिताराम आङ्देम्बे र उनकी श्रीमती मनिषा थापा मगर तथा लागू औषध खरिद गर्ने सुनसरीको धरान उपमहानगरपालिका–५ का २४ वर्षीय कल्याण राई र धरान–१६ का २४ वर्षीय रिजन लकन्दी रहेका छन् ।

प्रहरीले उनीहरुलाई झापाको मेचीनगर नगरपालिका–७ बाटै पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २८ ग्राम नियन्त्रित लागू औषध ब्राउन सुगर, १ लाख ३३ हजार रुपैयाँ नगद र ३ थान मोबाइल सेट बरामद गरेको छ ।

लागू औषधसहित पक्राउ परेका चारै जनाविरुद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकाडभिट्टाले जानकारी दिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post