मङ्सिर ७ ,काठमाडौँ । शनिबार चितवनमा भएको घटनापछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादले नयाँ मोड लिने संकेत देखिएको छ ।
अब गुटगत भेलाहरु बढ्ने र नेताहरुविरुद्ध एक गुटले अर्को गुटलाई बहिष्कार गर्ने संकेतले पार्टीको विवाद अब स्थानीय तहसम्म पुगेको महसुस गरिएको छ । चितवन घटनाले पार्टी बिभाजन्मुख भएको भन्दै नेताहरुले समेत कडा प्रतिक्रिया दिएका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले समेत सामाजिक संजालमा टिप्पणी गर्दै गैह्रराजनीतिक कार्यसँग सम्लग्न व्यक्तिमाथि छानबिन गरि कारवाही हुनपर्ने उल्लेख गरिएको छ ।
गंगा दाहालले सामाजिक संजालमा भनेकी छन्, "अराजकताको पराकाष्ट, नेकपाका स्थायी समिति सदस्य कमरेड सुरेन्द्र पाण्डेद्वारा आफ्नो क्षेत्र चितवनको राप्तीमा पार्टी बैठकलाई भद्र शैलीमा सम्बोधन गर्ने क्रममा एक समुहबाट अराजनीतिक गतिविधि गरि दुर्व्यवहारको प्रयास भएको छ, यो गैह्रराजनीतिक कार्यसंग सम्लग्न व्यक्ति माथी छानबिन गरि कारवाही होस् ।"
त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि एक विज्ञप्ति जारी गर्दै नेता पाण्डेमाथि भएको घटनाप्रति आपत्ति जनाएका छन् । घटनाको निन्दा गर्दै नेता नेपालले सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन् "गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु । सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु ।"
के भएको थियो चितवनमा ?
शनिबार चितवनमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा नाराबाजी भएको थियो । चितवनको राप्ती नगरपालिकामा नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथिको सहभागी कार्यक्रममा होहल्ला र नाराबाजी भएको थियो ।
नेकपा राप्ती नगरकमिटीले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा सुरेन्द्र पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको हो । कार्यक्रम सञ्चालन गर्न नसकेपछि स्थगित भएको थियो । राप्ती नगर कमिटीले तत्काल बैठक बसी घटनाको भत्सर्ना समेत गरेको छ ।
पाण्डेले मदन भण्डारी फाउण्डेसनलाई गुटबन्दी गरेको आरोप लगाउँदै भाषण गरेपछि प्रधानमन्त्री केपीशर्मा ओली पक्षका युवाहरुले विरोध गर्न थालेको कार्यक्रममा उपस्थित नेताहरुले बताएका छन् ।