छठ पर्वले राष्ट्रिय एकतालाई अझ बलियो बनाउने राष्ट्रपतिको विश्वास !

 कोरखबर   ५ मंसिर, २०७७



५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक नहुने भएकी छन् ।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी उक्त जानकारी दिएका हुन् । राष्ट्रपति भण्डारी विगत वर्षमा काठमाडौंका गुहेश्वरी–गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेकी थिइन् ।

नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ । तर यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण अघिल्ला वर्षहरुमा जस्तो छठ पर्वको उल्लास छैन ।

कार्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइन्छ ।

यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य  र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन प्रेरणा दिने विश्स व्यक्त गरेकी छन्।

छठ पर्व, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गर्दै उनले विश्वव्यापी रूपमा फैलिएको  कोभिड-१९ को बढ्दो सङ्क्रमणबाट जोगिन पूर्वसावधानीका उपायको पालना गर्दै मनाउन सबैमा आह्वान गरेकी छन्।

छठले मौलिक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्वास उनको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post