कार्तिक २८,काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला आज शुक्रबार सचिवालय बैठक बस्दै छ । शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सो बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमै पार्टी महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले बैठक आह्वान गर्नुभएको हो ।
यसअघि नेकपा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरूले बैठक माग गर्दै आएका थिए । तर प्रधानमन्त्री ओली पक्षका नेताहरू अल्पमतमा परिने देखेर बैठक बोलाउन हिचकिचाइरहेका थिए ।
यही कार्तिक २२ मा सचिवालयका बहुमत सदस्यहरूले बैठकका लागि प्रधानमन्त्री ओलीलाई लिखित रूपमै आग्रह गर्दा उहाँले अस्वीकार गर्नुभएको थियो । त्यसपछि अर्का अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएर प्रधानमन्त्री ओलीलाई भेटेरै औपचारिक बैठकका लागि पुनः आग्रह गर्दा पनि ओलीले अस्वीकार गर्नुभएको थियो । तर पछि भने उहाँ संखुवासभा भ्रमणमा गएर फर्किनुभएपछि बैठकका लागि राजी हुनुभएको बताइएको छ ।