मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने !

 कोरखबर   २७ कार्तिक, २०७७



कात्तिक २७,काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।  सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

उनका अनुसार त्रुटि सच्याउने काम मङ्सिरको दोस्रो सातासम्म सकिने भारतीय कम्पनीले बताएको छ । केही महिनायता सुरुङमा पुनरावलोकनको काम भइरहेको उनले बताए । उनले भने, “सम्भावित सबै ठाउँमा पुनरावलोकन भइरहेको छ ।”

मङ्सिरसम्ममा त्रुटि सच्याए पनि काठमाडौँमै पानी झार्न भने माघ मसान्तसम्म लाग्ने देखिएको छ । सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता शाक्यले जानकारी दिए । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए ।

सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि भने उपत्यकामा वितरण शुरु हुने उनले जानकारी दिए । सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र रहेका छन् । यहाँबाट पानी प्रशोधन भए पनि उपत्यकाका विभिन्न स्थानमा रहेका ट्याङ्कीमार्फत पाइपमा पानी पुग्छ । उपत्यकामा खानेपानी वितरणका लागि आवश्यक संरचना बनिसकेकाले पानी आउनासाथ तत्काल वितरण थालिने उनले जानकारी दिए । अहिले वाग्मतीको पानीमार्फत परीक्षण भइसकेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post