नेपाल–भारत सम्बन्ध सुधार्न उच्चस्तरीय भ्रमणको तयारी !

 कोरखबर   २५ कार्तिक, २०७७



कात्तिक २५,काठमाडौं । सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको पहल हुन थालेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्रियता देखाएका हुन् । सोहीअनुसार भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ ।

सुरुमा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला, त्यसपछि विदेशमन्त्री जयशंकर र त्यसलगत्तै भारतका रक्षामन्त्री राजनाथ सिंह वा गृहमन्त्री अमित शाहमध्ये कोही एक नेपाल आउने तयारी भइरहेको छ ।

विदेश सचिव श्रृंगला र विदेशमन्त्री जयशंकारको नेपाल भ्रमण तय भइसकेको छ । भारतीय दूतावास स्रोतका अनुसार विदेश सचिव श्रृंगला नोभेम्बर २६ मा नेपाल आउन लागेका छन् । विदेश मन्त्री जयशंकर भने डिसेम्बरमा आउने छन् ।

विदेश मन्त्री आउने तय भए पनि मिति तोकिएको छैन । विदेश सचिव श्रृंगला फर्केपछि विदेशमन्त्री जयशंकरको भ्रमण मिति तय हुने बताइएको छ । हुन त २०१९ डिसेम्बरमै भारतीय विदेश सचिव नेपाल आउने तय भएको थियो । तर त्यतिबेला नै सचिव परिवर्तन भएकाले भ्रमण स्थगित भएको थियो ।  त्यसपछि कोरोना महामारी सुरु हुनुका साथै नेपाल र भारतबीच सीमा विवाद पनि चर्किएको थियो । सीमा विवादपछि दुई देशबीचको सम्बन्धमा चिसोपन देखिएको छ ।

भारतीय विदेश मन्त्रीको भ्रमण पनि गत मार्चरअप्रिलमै हुने तय थियो । तर दुई देशबीचको विवाद र कोरोनाको कहरले गर्दा भ्रमण स्थगित गरिएको थियो । कोरोना र सीमा विवादका कारण रोकिएका सम्पूर्ण भ्रमणलाई ढिलै भए पनि सुचारु गराउन थालिएको भारतीय दुतावास स्रोतले बताएको छ ।

विदेश सचिव श्रृंगला र विदेश मन्त्री जयशंकरको भ्रमण कार्यतालिका अनुसार नै हुन लागेको हो भने गृहमन्त्री शाह र रक्षामन्त्री सिंहमध्ये कुनै एक मन्त्रीको भ्रमण विशेषखालको हुने बताइएको छ । उक्त भ्रमण आगामी जनवरी वा फेब्रुअरीमा हुने स्रोतको भनाइ छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post