'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' नलेख्ने निर्णय कार्यान्वयन नगर्नु : राज्य व्यवस्था समिति

 कोरखबर   २४ कार्तिक, २०७७



कात्तिक२४, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को साटो ‘नेपाल’ मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।

देशको नाम लेख्दा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने मन्त्रिपरिषद्को निर्णयबारे समितिले सोमबार परराष्ट्रमन्त्रीसँग छलफल गरेको थियो ।

मन्त्री प्रदीप ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्र नाम नभई हामीले अवलम्बन गरेको राज्य प्रणाली भएको र, सरकारले नामबारे मात्र निर्णय गरेको उनको स्पष्टीकरण थियो । तर समितिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको साटो नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

समितिको निर्णयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदद्वय बिजय सुब्बा र नबराज सिलवालले भने फरक मत राखेका छन् । सरकारले गणतन्त्रविरुद्ध जान खोजेको होइन भनेर प्रस्टीकरण दिइसकेकोले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन दिनु नपर्ने उनीहरुको तर्क छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post