ओखलढुंगामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु !

 कोरखबर   २३ कार्तिक, २०७७



कार्तिक २३ ,ओखलढुंगा – राष्ट्रिय परिचयपत्र वितरणका लागि ओखलढुंगामा दर्ता सुरु गरिएको छ। मानेभन्ज्याङ गाउँपालिकाबाट दर्ता अभियन सुरु भएको हो। गाउँपालिकाका ९ वडाका २० स्थानमा ४० टोलीले दर्ता सुरु गरेका छन्। तिहारअघि मानेभन्ज्याङ सकेर खिजीदेम्वा सुरु गर्ने तयारी छ।

जिल्लाका आठै तहमा चैतअघि सम्पन्न गर्ने गरी काम अघि बढेको छ। दर्तामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले सहजीकरण तथा अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र मानेभन्ज्याङ गाउँपालिकासँगको सहकार्यमा अभियान थालेको हो।

अभियानको ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवारले विभागका महानिर्देशक जितेन्द्र बस्नेतको उपस्थितिमा दुई जना ज्येष्ठ नागरिकको विवरण दर्ताको निस्सा प्रदान गरेर उद्घाटन गरे। सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गरी सेवा प्रवाह छिटो, विद्युतीय सुशासन कायम गर्ने उद्देश्य छ।  जिल्लाभर दर्ता सकेर परिचयपत्र वितरण गर्ने विभागको तयारी छ। 

कोरोना भाइरस संक्रमणका कारण विभिन्न जिल्लाको अभियान अवरुद्ध भएको अवस्थामा ओखलढुंगामा संक्रमण शून्य भएकाले सञ्चालन गर्न जनप्रतिनिधिले पहल गरेका थिए। अहिले राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले कर्मचारीसहितको टोली खटाइएको छ। 

सरकारले सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सबै खाले सेवा प्रवाह छिटो छरितो रूपमा गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान थालिएकाले गाउँपालिकाका सबै नागरिकको अभिख कायम गराउनुपर्ने विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post