शिक्षक सेवा आयोगले माग्यो अध्यक्ष र सदस्यका लागि दरखास्त !

 कोरखबर   २२ कार्तिक, २०७७



कार्तिक २२,काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा बुझाउनु पर्ने छ ।

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको छ ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस गर्ने जिम्मेवारी शिक्षक सेवा आयोगलाई तोकिएको छ ।

एक अध्यक्ष र दुई जना सदस्य (एक महिला) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ । पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ । शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ ।

आयोगका अध्यक्ष ताना गौतमको पनि कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल आयोग पदाधिकारीविहीन छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post