१८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण नगर्न दिएको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामको संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।
कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको समयमा निःशुल्क खाना खुवाउँदै आएका छन् ।
खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको तथा महानगरको वेईज्जत भएको भन्दै काठमान्डौ महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिएको छ । तर रोजगारी गुमाएर हातमुख जोर्न समस्या भएकाहरुलाई सरकारले विकल्प नदिएसम्म आफूहरुको काम जारी रहने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले बताए । आज बिहान करिब ३ सय जनालाई निःशुल्क खाना खुवाएको पन्तले बताए ।