कार्तिक १८, काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुनेगरि तयारी भैरहेको छ ।
पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्कँदा पार्टी एकता नै गम्भीर संकटमा पर्ने हो कि भन्ने आशंका उब्जिरहेको बेला दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उनीहरुले तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन् ।
तर, ओलीले आफू कुनैपनि बैठक राख्ने पक्षमा नभएको भन्दै जबरजस्ती बैठक राखे र आफूविरुद्ध निर्णय गरेर ठूलो कदम चाल्ने दाहाललाई चेतावनी दिएका छन् ।