कात्तिक १७, काठमान्डौ । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासहित विभिन्न देशका राजदूतमा प्रस्तावित ३ जनाको संसदीय सुनुवाइ कात्तिक २७ गतेका लागि तय भएको छ ।
प्रस्तावित राजदूतहरूविरुद्ध परेका उजुरीमाथि सोमवार छलफल तोकिएको भए पनि संसदीय सुनुवाइ समितिको बैठकमा उजुरीकर्ता उपस्थित नभएपछि संसदीय सुनुवाइको मिति तोकिएको हो ।
संयुक्त राज्य अमेरिका लागि प्रस्तावित नेपाली राजदूत डा. खतिवडाविरुद्ध संघीय संसद् संसदीय सुनुवाइ समितिमा ३ उजुरी परेका थिए । बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध १ उजूरी परेको थियो ।
सरकारले असोज १५ गते अमेरिकाका लागि प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मालाई राजदूतमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष नाम पठाएको थियो ।
समितिको गत असोज २१ गतेको बैठकले प्रस्तावित राजदूत सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भएमा १० दिनभित्र समितिसमक्ष उजूरी दिन सर्वसाधारणसँग आह्वान गर्दै सूचना प्रकाशन गरेको थियो ।