कात्तिक १२, सिन्धुपाल्चोक । पिसिआर परीक्षणका लागि संकलन गरेको स्वाब नै हराएपछि केही कोरोना संक्रमित थप समय आइसोलेसनमै बस्न बाध्य भएका छन्। स्वाब संकलन गरेको ५ दिन बितिसक्दा पनि रिपोर्ट नआएपछि मेलम्ची नगरपालिकाले बुझ्दा स्वाब ल्याबमा दर्ता नभएको पाइएको थियो।
कात्तिक ५ गतेकै रिपोर्ट आइसकेको र ३ गतेको बाँकी नै छैन भनेपछि संक्रमित र नगरपालिका अन्योलमा परेका थिए। पहिल्यै संक्रमण पुष्टि भई नगरपालिकाको बाहुनेपाटी आइसोलेसनमा रहेका ४ जनाको स्वाब गत ३ गते परिक्षणका लागि काठमाडौं पठाइएको थियो।
उपमेयर भगवती नेपालका अनुसार ५ गते स्वाब दिएका व्यक्तिहरुको रिपोर्ट आयो तर त्यसभन्दा अघि अर्थात् ३ गतेको नआएपछि खोजी गर्दा स्वाब हराएको पाइएको थियो। स्वाब संकलन गरी एम्बुलेन्समार्फत काठमाडौं पठाएइ पनि प्रयोगशालामा दर्ता नहुनु दुःखद भएको भन्दै उपमेयर नेपालले यसको सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताइन्। नगरले ल्याबमा बुझाएपछि यस्तो लापरबाही हुन नहुने उनले बताएन्। संक्रमितको स्वास्थ्यमा प्रयोगशालाले खेलवाड गर्न खोजेको भन्दै उनले यसरी संक्रमण बृद्धि हुने बताइन्।
३४ दिनदेखि कोरोना संक्रमण भएर आइसोलेसन बसेकाहरुको स्वाब हराएकाले मानसिक तनाव भएको एकजना संक्रमितले बताए। संक्रमितहरु अहिले जिम्मेवार निकायको लापरबाहीको कारण आज यस्तो दिन आएको उनले बताए। उनीहरुको स्वाव १० दिनपछि फेरि नगरले संकलन गरी परिक्षणका लागि पठाइएको छ।
यो विषयमा अहिलेसम्म पनि कसैले आधिकारिक जवाफ दिन सकेका छैनन्। जिल्ला स्वास्थ कार्यालयका प्रमुख दुर्गादत्त चापागाइँले स्वाब हराउनु अनौठो भएको बताए।