कार्तिक ८, बर्दिया । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल भित्र्याइएको ४ लाख ५ हजार ५ सय भारतीय रुपैयाँसहित एक महिलालाई पक्राउ गरेको छ । सशस्त्रको ३१ नम्बर गण बर्दियाले भारतको सिमलाबाट आएकी कोहलपुर—४ किरण नालाकी ३५ वर्षिया विमला शाहीलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउतका अनुसार गुलरिया नगरपालिकाको सीमावर्ती कौवाभारीबाट स्रोत नखुलेको रकमसहित शाही पक्राउ परेकी हुन् ।
ती महिला भारत बहराइच मोतीपुर थाना मुर्तिहाको घना जंगल हुँदै एक्लै नेपाल पसेकी थिइन् । पक्राउ परेकी शाहीलाई रकमसहित थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।