चिडियाखानालाई ललितपुर महानगरले दियो १० लाख सहयोग !

 कोरखबर   ६ कार्तिक, २०७७



 कात्तिक ६, ललितपुर । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बिहीबार महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चिडियाखानाका आयोजना अधिकृत डाक्टर चिरञ्जीवी पोखरेललाई सहयोगबापतको चेक हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर महर्जनले कोभिड–१९ सङ्क्रमणका कारण चिडियाखानाको आम्दानीको स्रोत बन्द भएकोले आर्थिक समस्या परेको अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराएको बताउनुभयो । आउँदा दिनमा आवश्यकताअनुसार आर्थिक सहयोग रकम जुटाउन महानगर प्रतिबद्ध रहेको पनि उहाँले बताउनुभयो । 

सदर चिडियाखानाका आयोजना अधिकृत डा। पोखरेलले कोरोना सङ्क्रमणको जोखिमका कारण चिडियाखाना बन्द रहँदा आम्दानी ठप्प रहेको बताउनुभयो । चिडियाखानामा वार्षिक १५ करोड रुपैयाँभन्दा बढी खर्च हुने गर्छ भने चिडियाखानाभित्र रहेका वन्यजन्तुको खानपिनका लागि तीन करोडदेखि चार करोड रुपैयाँ खर्च हुने पोखरेलले बताउनुभयो । चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ वन्यजन्तु रहेका छन् । 

आर्थिक अभावका कारण चिडियाखानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा। पोखरेलले बताउनुभयो । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्षदेखि चिडियाखाना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड–१९ का कारण पूर्णरुपमा बन्द गर्नुपर्दा आम्दानी शून्य भएको छ ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post