कात्तिक २, काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेख्नुभएको छ ।
आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले यससम्बन्धमा जानकारी दिनुभएको हो । साथै उहाँले दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको बताउनुभएको छ ।
‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैँ भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने हो । निवेदन दिइरहनुपर्ने होइन ।’
साथै उहाँले आफ्नो खातामा जम्मा भइसकेको रकम सचिवालयलाई लिन कठिनाइ भएमा भत्ता बराबरको आफूबाट चेक लिएर वा आउँदो महिनाको पारिश्रमिकबाट त्यो रकम कट्टी गर्न सकिने पनि बताउनुभएको छ ।
कोरोनाकालमा पनि सांसदहरुका लागि दशैँ भत्ता छुट्ट्याइएको भन्दै चर्को जनदबाब बढेपछि धेरै सांसदहरु भत्ता नलिने पक्षमा पुगेका छन् । यसैविच पुर्वमन्त्री एवम् नेकपा सांसद जनार्दन शर्माले पनि आफूले पाएको दशैं भत्ता कोरोना संक्रमितको उपचारमा खर्च गर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै शर्माले भेन्टिलेटरमा राखी उपचार भइरहेका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहोरालाई हस्तान्तरण गर्ने बताएका छन् । अहिलेको अवस्थामा सांसदलाई भत्ता दिनुको सट्टामा भेन्टिलेटर खरिद गर्न उनले आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दशैं भत्ता सांसदलाई दिनु भन्दा भेन्टिलेटर किनौँ । दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’