असोज ३०, काठमान्डौ । राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरमा दुई वर्षअघि भएको इन्काउन्टर प्रकरणमा डीएसपीसहित ५ जनालाई कारबाही सिफारिस गरेको छ । पीडित परिवारले दिएको उजुरीमाथि छानबिन पछि आयोगले बिहीबार तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायव निरीक्षकहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कार्वाहीको लागि सिफारिस गरेको हो ।
काठमाडौ काँडाघारी बस्ने ११ बर्षीय बालक निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई प्रहरीले गत २०७५ साउन २१ मा भक्तपुरको सूर्य विनायक जंगलमा इन्काउन्टर गरेको थियो ।
प्रहरीले दोहोरो झडप भएको बताएको सो उजूरीमा छानबिन हुँदा हत्या भएको देखिएको आयोगको ठहर छ । ‘प्रहरीले दोहोरो झडप भएको बताएको उजूरीमा आयोगबाट गठित विशेषज्ञहरु सम्मिलित छानविन समिति समेतले पेश गरेको प्रतिवेदनउपर सुनुवाई हुँदा उक्त घटना दोहोरो झडप नभई आरोपित दुवैजनालाई नियन्त्रणमा लिए पश्चात गोली हानी मारिएको आयोगले ठहर गरेको छ ।
उक्त घटनाबाट पीडित बालक निशान खड्काको परिवारलाई रु। ३ लाख क्षतिपूर्ति, गोपाल र अजय तामाङको परिवारलाई रु. १ लाख क्षतिपूर्ति र दोषी देखिएका तत्कालीन प्रहरी नायव उपरीक्षक श्री रुगमबहादुर कुँवर, प्रनानिहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रसनि राजन खड्कालाई कानूनमोजिम कार्वाहीको लागि सिफारिस गरेको छ’, आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।