असोज २९,काठमाडौँ । प्रधानमन्त्रीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्दै केही नयाँ अनुहार सरकारमा भित्र्याएको छ । तीन जना नयाँ मन्त्री नियुक्त भएका छन्, जसको पद तथा गोपनीयताको शपथ आज ११ बजे राष्ट्रपति कार्यालयमा तय गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ भने कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । उहाँहरू तीनै जनाको शपथ बिहीबार ११ बजेका लागि तय भएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । शपथ ग्रहण समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।
बुधबारको सामान्य हेरफेरमा प्रधानमन्त्रीले ईश्वर पोखरेलको हातबाट रक्षा मन्त्रालय खोसेर आफै राख्नुभएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यभार भने पोखरेललाई थमाउनुभएको छ । साथै रिक्त रहेको सञ्चार मन्त्री पदमा यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई जिम्मेवारी दिनुभएको छ ।