असोज २८,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहारलगत्तै भ्रष्टाचारको विरोधमा देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरुसँगको परामर्शमा यस्तो तयारी गरेका हुन् ।
‘देश संकटमा भएको बेलामा पनि जताततै भ्रष्टाचार मौलाउनु सुखद छैन्, यस्तो अवस्थामा कांग्रेसले टुलुटुलु हेरेर बस्नुहुँदैन्, हामी कोभिड–१९ को संक्रमणको जोखिमलाई हेरेर अहिलेसम्म चुप लागेर बसेका थियौं । अब चाडपर्व सकिनेलगत्तै हामी सरकारको विरोधमा सडकमा जान्छौं।’–देउवाले आफूनिकट नेताहरुसँग भनेका छन।
कांग्रेसले यसअघि नै भ्रष्टाचारको विरोधमा सकडमा आउने निधो गरिसकेको थियो । तर, कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै ती सबै कार्यक्रम हाललाई स्थगित् गरेको जनाएको छ ।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम नचालेको भन्दै कांग्रेसले आफ्नो असन्तुष्टि पोख्दै आएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेरै पार्टीको तर्फबाट महत्वपूर्ण सुझाव दिएका थिए ।